Wednesday, December 20, 2023

 

शिशु-आमाबीचको मनोस्वास्थ्य सम्बन्ध

link- https://ekantipur.com/opinion/2023/12/13/the-infant-mother-mental-health-relationship-08-11.html

 डा. धनरत्न शाक्य

शिशुको स्वास्थ्यको आधार नै आमाको स्वास्थ्य हो । आमासँगको सम्बन्ध र सामीप्यबाट बच्चाको अस्तित्व र विकासको आधार तयार हुने गर्छ । आमाबाटै सहारा र भरोसा मिल्छ । बच्चाको प्रवृत्ति, स्वभाव र व्यक्तित्व धेरै हदसम्म आमाबाटै सरेको हुन्छ । कुनै पनि विषय वा तनावलाई हेर्ने, बुझ्ने र त्यसप्रति प्रतिक्रिया जनाउने तरिका बच्चाले आमा र बुबाबाटै सिक्छ ।

बच्चाको शरीरका कोषहरू र वंशाणु आमाबुबाबाटै जाने हुन् । राम्रा गुणहरूसहित रोगको सम्भावना पनि सर्ने गर्छ । आमाको पोषण र स्वास्थ्य स्थितिले प्रत्यक्ष रूपमै शिशुको समग्र स्वास्थ्यमा प्रभाव पार्छ । 

बच्चा गर्भमा हुँदा त आमाको अवस्थाको अझ सिधा असर पर्ने हुन्छ । शरीरको मात्र नभई मनमस्तिष्कको प्रारूप, आधार र खाका दूरगामी हिसाबले यही बेला तय र तयार हुन्छ । अतः आमाबाट बच्चामा वाञ्छित प्रभाव परोस् भन्न गर्भावस्थामा ध्यान दिनुपर्ने प्रमुख पक्षहरू हुन्— सन्तुलित र स्वस्थ आहार, पेयजल, पोषण, संक्रमणबाट बचावट, तनाव व्यवस्थापन, व्यायाम ।

गर्भवती महिला र गर्भमा रहेको बच्चालाई एउटा एकाइका रूपमा हेर्न सकिन्छ । यी दुई परस्परमा सम्बन्धित र धेरै पक्षमा पूरक पनि हुन्छन् । हरेक महिला वास्तवमा सन्तानमा पुगेर आमामा रूपान्तरित हुन्छिन् । अर्कातिर, आमा नै शिशुको अस्तित्व, स्वास्थ्य र नियतिको आधार,निर्णायक र निर्धारकसम्म हुने गर्छिन् । आमाबाट कुनै पनि रोगबाट बच्ने बचावटका तत्त्व/आधार र रोगतिर धकेल्ने जोखिम/खतराका तत्त्वहरूसमेत बच्चामा जान्छन् ।

आमाको तनावले आमा स्वयंलाई असर परे जस्तै गर्भको शिशुलाई पनि विभिन्न हिसाबले, कतिपय त अझ गम्भीर रूपमा असर पैदा हुन सक्छ भनिएको छ विभिन्न प्रतिवेदनमा । हल्का तनाव (जस्तै— शारीरिक व्यायाम, मानसिक सक्रियता आदि) ले धेरै हदसम्म अनुकूल प्रभाव ल्याउँछ । यसले शिशुको कोष विकासमा बढावा दिन्छ । मध्यमदेखि कडा खालको तनाव (जस्तै— घरेलु हिंसा, यातना, दुर्व्यवहार, विपत्ति आदि) ले भने प्रतिकूल असरहरू निम्त्याउने गर्छ । तनावबाट आमामा डिप्रेसन, एन्जाइटीजस्ता मानसिक अस्वस्थता देखिँदा हर्मोन, स्टेरोइड, स्नायु रसायन, रिसेप्टर, वंशाणुकै तहमा असरहरू सालनाल वा दूधका माध्यमबाट बच्चामा प्रसारित, वितरित हुन्छ ।

 

सुषुम्नाको झिल्लीमा असर पार्ने र सुन्निएर त्यसका माध्यमबाट पनि यी कुरा शिशुमा प्रसार भई मनमस्तिष्कको बनोट, विकास, परिपक्वतामा प्रभाव पर्ने हुन्छ । यस्तो असर तत्कालीन, अल्पकालीन र दीर्घकालीन, दूरगामीसमेत हुन सक्छ । यस्तो असर बच्चाको मस्तिष्कका विभिन्न भागको बनावट, स्नायु रसायन, स्नायु रिसेप्टरहरूको संवेदनशीलता वा विद्युतीय–रासायनिक तहमा गडबडी पैदा भई व्यक्तिको प्रवृत्ति, स्वभाव र लक्षणको तहसम्म पुग्न सक्छ । यस्तो असरले बच्चामा चिडचिडापन, छटपटी, कमजोरी, अनिद्रा, चकचकेपना, अरुचि, एकाग्रता–स्मरण शक्तिमा समस्या हुन सक्छ । अनि बच्चाको वृद्धि, विकास, परिपक्वता, समायोजन आदिमा गतिरोध भई डिप्रेसन, एन्जाइटी, एडीएचडी, अटिजम, साइकोसिस, सुस्त मनस्थितिलगायतका रोग उत्पन्न हुन सक्छन् । आमाले गर्भावस्थामा गरेको सुर्ती–गाँजाको सेवन, धूमपान, मद्यपानलगायतले बच्चाको मनमस्तिष्क र विभिन्न भागमा असर पर्न जान्छ ।

आम रूपमा गर्भावस्थामा कुनै पनि रोगको उपचार गर्न हिचकिचाहट हुन्छ । हुन पनि जथाभावी औषधि सेवन गर्नु बच्चाका लागि खतरनाक सावित हुन सक्छ, सावधानी जरुरी छ नै । मानसिक रोगको सवालमा उपचारमा जान सामान्य अवस्थामा आनाकानी हुन्छ भने गर्भवती महिलाको सवालमा त झनै हुने नै भयो । तर जति–जति यस विषयमा अध्ययन–अनुसन्धानबाट तथ्यहरू अगाडि आए, त्यति–त्यति के प्रस्ट हुँदै गएको छ भने, जति चाँडो आमाको मनोभावनात्मक रोग र तनावको पहिचान गरी उपचार गर्न सक्यो, त्यसबाट बच्चामा देखा पर्न सक्ने मानसिक प्रतिकूलता उति छिटो कम गर्न सकिन्छ ।

आमालाई मानसिक रोग लागेको अवस्थामा खुवाइएको औषधिबाट बच्चालाई हुने फाइदा सम्भावित प्रतिकूलताका तुलनामा धेरै गुणा ज्यादा हुन्छ । त्यस्ता सम्भावित असरहरू पनि सतर्कता अपनाउन सके घटाउन सकिन्छ, उपचारले आमालाई हुने फाइदा त आफ्नो ठाउँमा छँदै छ । अतः गर्भवती महिलाको कडा खालको तनाव र मानसिक रोगहरूको उपचार बच्चा र आमा दुवैको हितका लागि समयमै दक्ष चिकित्सकबाट गराउनु अति जरुरी हुन्छ ।

-शाक्य बीपी प्रतिष्ठान, धरानका मनोरोग विभाग प्रमुख हुन् ।

प्रकाशित : मंसिर २७, २०८० ०८:३७

 

Sunday, December 4, 2022

Our Efforts to Appraise Cannabis Problem in Nepalese Context-

https://www.researchgate.net/publication/365184968_Our_Efforts_to_Appraise_Cannabis_Problem_in_Nepalese_Context 

Friday, May 6, 2022

 कोविड लगायतका प्रतिकूल परिस्थितिमा कसरी अघि बढ्ने भन्ने बौद्ध पहुँचबारे प्रकाशित जर्नल आर्टिकलः 

Shakya DR, Bajracharya NM (2021) Buddhist Way of Looking into COVID-19 Pandemic. Ann Psychiatry Ment Health 9(2): 1165

https://www.researchgate.net/publication/353907730_Buddhist_Way_of_Looking_into_COVID-19_Pandemic

https://www.researchgate.net/publication/353907730_Buddhist_Way_of_Looking_into_COVID-19_Pandemic