Sunday, December 27, 2015

Lets be aware about Stressor: an article by Dr. Dhana Ratna Shakya in Kantipur Qatar (December 24, 2015)


      तनावबारे सुसुचित होऔं ।

       डा. धनरत्न शाक्य, एमडी

                                    बरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ, एडिशनल प्रोफेसर ।

नेपाल – तनाव झेल्दै आएको देश :
जीवन र जगत्मा आइपर्ने घटना, परिस्थिति वा अवस्था व्यक्तिको बुझाइमा हानिकारक, अनियन्त्रित वा क्षमताभन्दा परको जँचेमा त्यस्तो आन्तरिक अवस्थाले मन र शरीरमा खास असरहरु आउँछन् र यसले तनावको रुप लिन्छ । देश, काल र परिस्थिति अनुसार व्यक्ति र समाजका लागि विभिन्न समस्या, चुनौती र तनाव आइपर्दछन् । नेपालपुत्र सिद्धार्थ गौतमले जन्म, बुढापा, रोग र मृत्यू जस्ता सास्वत् घटना नै समस्या भएकोले संसार एक दुःखको गाउँको रुपमा अभिबोध गरे । यसको निराकरणको खोजीमा चतुर्आर्यसत्य, आर्यअष्टांगिक मार्ग र निर्वाण लाभ गरे । रामको बनबासको शोकले उनका पिता दशरथ उदासिनताका शिकार भए र प्राण त्यागे । तनाव र समस्या हल गर्नका लागि कृण्णजीले मार्ग निर्देशन गरेको महाभारतले नेपालमा ठूलो प्रभाव राख्छ । युद्ध कौशलताका कारण नेपालीले वीर गोरखालीको परिचय नै बनायो तर यसका पछाडि कैयौं नेपाली महिलाले पतिवियोग, आमाले पुत्रवियोग अनि सन्तानले पिताको मायाबाट बिमुख हुनु परेको व्यथा भने इतिहासमा ओझेल परेको देखिन्छ । स्वदेशमा रोजगारी, धन्दा वा आयआर्जनको समस्या भएर भोटतिर लाग्नुपर्दाको पिडाको राजमती र मुनामदन जस्ता कालजयी कथाव्यथाले नेपाली मनमुटु भिजेको छ । गाउँठाउँमा जमिन्दार, फताहा शासकको कारण धेरै आमनेपालीको उठीबास् भएको, बसाईं सराइ भएको, चेलीको इज्जत जाँदा आमाबाको आँसुले दहको रुप लिएको कथा पनि हाम्रै हो । नेपाली इतिहास त झन् तनावपूर्ण र रक्तरंजित मानिन्छ । इमान्दार देशसेवक भीमसेन थापाले घाँटी सेरेर आत्महत्या गर्ने माहोल तयार हुन्छ नेपालको इतिहासमा । नाटकीय र रहस्यमय ढंगले शाहवंशीय राजा वीरेन्द्रको समुल वंशज नास हुने गरेर हत्या भयो एक्काइसौं शताव्दीमा पनि । त्यस्तै, नेपाल पहिलेदेखि नै बाढी, पहिरो, भूकम्प, आगजनी, जंगली जन्तुबाट बेलाबेला प्रताडित रहेको छ । प्रष्ट छ; नेपाल र नेपालीले पहिलेदेखि नै तनाव, समस्या र चुनौती झेल्दै आएको हो ।

वर्तमान नेपालमा तनाव : 
अहिले पनि नेपालमा पहिलेका धेरै तनावहरु विद्यमान छन्, साथमा अरु नयाँ चुनौतीहरु थपिँदैछन् । समयले सकारात्मक परिवर्तनहरु, बिकास र प्रगति पनि ल्यायो । वर्तमान विश्वको घटनाक्रमले सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेकोछ । आजको एक आम नेपाली  नागरिकले दैनिक क्रियाकलापको धपेडी र त्यसमा परिवर्तन, जीवनका प्रमुख घटनाहरु, हालसालै परेका वा दीर्घकालीन समस्याहरु, जस्तै— वातावरणीय (प्रकोप, बाढी, पहिरो, भूकम्प, आगलागी), सामाजिक (अन्धपरम्परा, सासुबुहारी दाजुभाइ वा एक आपसबीचको कलह, बलात्कार, चोरी, झगडा, देहव्यापार), राजनैतिक (बन्द, हडताल, द्वन्द्व, झडप, जुलुस, आन्दोलन, नाकाबन्दी, ढिलासुस्ती, घुसपैठ, अत्याचार), आर्थिक (बजार भाउको महंगाइ, बेरोजगारी, हानि, नोक्सानी), शारीरिक (रोग, उपचारसेवाको अभाव, अपाङ्गता, आफन्तको मृत्यु), अनुपयुक्त प्रतिस्पर्धा, दुर्घटना, सुरक्षाको कमी जस्ता तनाव वा समस्याहरु मुलतः खेप्नुपरेको देखिन्छ । भर्खर दशक लामो द्वन्द्व थामिएको छ, यसको  र यसले ल्याएका असर र बिसंगतिको व्यवस्थापन चुनौती बनेको छ । अहिले आएर अवैज्ञानिक शिक्षा नीतिले थोपारेको महत्वाकांक्षा र बेरोजगारी तथा अव्यवस्थित बैदेशिक रोजगारीले ल्याएका सामाजिक बिखण्डनले नेपाली जनजीवन अस्तव्यस्त हुँदैछ । मेडियाको कारण अन्धअनुसरण भएर युवापुस्ता नजानिदो पाराले दुव्र्यसन, यौन दुराचार, देहव्यापार, एड्स, गैरकानूनी कार्य जस्ता तनावको दल्दल्मा फस्दैगैरहेको छ । यस्तो विषम परिस्थिति बाँचिरहेको नेपाललाई हालैका विनासकारी भुकम्प र पराकम्पहरुले सम्हाल्नै मुस्किल हुने खालका तनावहरु थोपरिदिएका छन् । भुकम्प, त्यसका विविध परिणामहरु र त्यस उप्रान्तका मानव सृजित परिस्थितिहरुले अबका धेरै वर्षहरु प्रभावित रहनेछन् । यसरी आक्लान्त भएको नेपाली मन तराईमधेसको आन्तरिक संघर्ष, द्वन्द्व र अघोषित तर लादिएको भनिने नाकाबन्दीले अझ प्रताडित भयो । यसप्रकार, तनाव वर्तमानमा आम नेपाली जनजीवनको अभिन्न अंशकै रुपमा रहेकोछ ।
एकातिर यसरी तनाव बढ्दो छ भने अर्कोतिर यसको व्यवस्थापनका लागि न त आम जनता सचेत छन् न सरकार जवाफदेही । आवश्यक पूर्वाधारका लागि कतै प्रयास देखिँदैन । यस्तो स्थिति नेपाल र नेपालीका लागि बडो खतरनाकसिद्ध हुनेछ । व्यक्तिगत, पारिवारीक, सामाजिक र वातावरणीय रुपमा यसरी नेपाली जनजीवन तनावपूर्ण छ । तनावको स्वरुपमा केहि परिवर्तन भएपनि मूलरुपमा नेपालमा पनि तनाव प्राकृतिक र मानवकृत गरी दुई खालका देखिन्छन् । तीमध्ये अति कडा गम्भीर, निरन्तरको लामो, बदल्न नसकिने खालको विशेष गरेर मानवसृजित वा मानवकृत तनाव जसमा भोलि के होला भन्ने निश्चितता हुँदैन, त्यस्ता खालका तनावले मानिसलाई गम्भीर प्रभाव पारेको देखिन्छ ।
अझ दुःखको कुरा त, हामीमा अझै समस्याको बारेमा हेक्का, जानकारी र सरोकार छैन । पहिचान, आंकलन वा अध्ययन नभएकोले हामीमा हाम्रो तनावको मूल कारण र यसका परिणामबारे यकीन जानकारीको कमि छ । यस्तो स्थितिमा हामी जानी नजानी तनाव वा समस्या बढाइरहेका हुन्छौं । जस्तो, हामी आम नेपाली गरीब, अशिक्षित र बेरोजगार छौं । बिहान साँझ चुल्हो बाल्न धौधौ छ र हामी बाध्य भएर अरु उपाय नदेखेर रक्सि पार्न र यसको धन्दा गर्न उद्धत हुनसक्छौं । हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ यो नेपाली समाजमा यति बिघ्न समस्या र तनाव हुनुको एक प्रमुख कारणमा पर्छ । भोलि पनि निर्बाध राहत् पाइएला भन्ने प्रत्याभूति र भरोसा छैन । सक्नेले सक्ने जति भुकम्पको राहत् कुम्ल्याउँदा आफ्नै अरु दाजुभाइ, दिदिबहिनीले यथोचित् राहत् नपाउने पक्का हो । एकातिर आफूले पाएजस्तै भ्रम भएपनि यस्तो प्रवृत्तिका कारण अरु धेरै ठाउँमा एकआपसमा ठगिन बाध्य रहन्छौं हामी । एकआपसमा ठगिने चक्रव्यूह र गोलो नै भएकोछ नेपाल । त्यसैले, सहि ज्ञान र जनचेतना, अनि समस्या समाधानका लागि हामी सबैको जागरुकता र पैरवी आजको ठूलो आवश्यकता भएको छ । यसो हुन नसकेको अहिलेको परिस्थितिमा तनावको व्यवस्थापनबारे नेपालीहरु अनभिज्ञ छन्, तनावजनित र अरु मानसिक समस्या व्याप्त छन् । समस्याको सहि सम्बोधन नहुँदा समस्या दिनपरदिन बढ्ने निश्चित छ ।             

तनावको जोखिमबारे सुसुचित होऔं : 
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको एक अध्ययनमा द्वन्द्वग्रस्त नेपाली मनोरोगीहरुले द्वन्द्वको स्थिति आफैंमा तनावको रुपमा महसूस गरेको देखियो । आतंक र हिंसाको घटना प्रत्यक्ष देख्नु, मानसिक हानि, चेतावनी लगायत शारीरिक कष्ट, यातना तथा हानी ब्यहोर्नु पर्दा धेरैमा छट्पटी भोक, निद्रा, प्यासमा गड्बडी, आभास÷ मतिभ्रम, भावनाका थरिथरि लक्षणहरु, मद्यपान तथा लागूपदार्थ सेवन, आत्महानि वा आत्महत्याको प्रयास जस्ता थरिथरि सिकायत लिएर अस्पताल आउने गरेको देखियो । तीमध्ये दुई ध्रुवीय भावनाको मनोरोग तथा उदासीनता सबैभन्दा बढी देखियो । यसदेखि बाहेक पागलपन, छट्पटी, तनावसँग प्रत्यक्ष सम्बन्ध राख्ने मानसिक असन्तुलन लगायत हिस्टेरिया, शारीरिक रोग विना पनि शारीरिक लक्षणहरु देखा पर्ने थरिथरि मनोरोगहरु देखिए । कतिपय बिरामीहरु दबाइ नपाएर छोड्नु पर्दा बल्झिएको देखियो । चार प्रतिशत यी बिरामीहरुमा आत्महानि तथा आत्महत्याको प्रयास गरेको पाइएको छ । यस्तो अवस्थामा एकातिर नेपालीहरु वर्तमानको तनावबाट ग्रस्त हुनुप¥यो भने अर्कोतिर पछि हुने सम्भावित घटनाबारे चिन्तित रहन प¥यो । यहिँको अर्को अध्ययनमा श्रीमान विदेशमा काम गर्ने नेपाली मनोरोगी महिलाहरुमा असहयोगी परिवारका सदस्यहरुको व्यवहार, सासु र परिवारका अन्य सदस्यसँगको कलह, कम शिक्षा, बेरोजगारी, अरुप्रति भर पर्नुपर्ने स्थिति र उनीहरुका जीवनमा आइपरेका प्रमुख घटना जस्ता कुराहरु तड्कारो तनावको रुपमा देखिए । यी महिलाहरुमा पनि उदासिन, छट्पटी, रक्सिको लत, हिस्टेरिया, शारिरीक रोग विना शारिरीक सिकायत हुने मनोरोगहरु मुख्य रुपमा देखिए । त्यस्तै अर्को अध्ययनले विदेशमा काम गर्ने तर मनोरोग लागेर यस अस्पतालमा उपचारार्थ आएका बिरामीहरुमा उदासीन लगायतका भावनाको मनोरोग सबभन्दा धेरैमा भएको तथा ती बिरामीहरुमध्ये झण्डै १७ प्रतिशतमा आत्महत्याको प्रयास भएको देखियो । यसले, वैदेशिक रोजगारीका लागि देश छाडी हाल्नु अगाडि व्यक्ति, परिवार र राज्यले अपनाउनु पर्ने उपाय, पूर्वतयारी र समस्या भएको अवस्थामा उपचारको आवश्यकतालाई औंल्याएको छ । यसका लागि तालिम, सीप र जानकारीको राज्य र सम्बन्धित पक्षबाट अनिवार्य व्यवस्था, महिला सशक्तिकरण, शिक्षा, रोजगारी र आत्मनिर्भरता, तथा तनाव व्यवस्थापनको बारेमा सबैलाई सुसुचित पार्नृ आवश्यक छ ।
हालैको विनासकारी भुकम्पबाट प्रतक्ष्य रुपमा प्रभावित व्यक्तिहरुबीच भक्तपुरमा यस लेखकबाट भएको प्रारम्भिक सर्वेक्षणले पचास प्रतिशतभन्दा बढीलाई मानसिक आघात् र समस्या देखाएको छ । यस स्थितिमा सरकार, भुकम्प पिडित मानिसहरु, अन्तर्राष्ट्रिय दार्तृ समुदाय लगायत् सम्बन्धित सबैले भुकम्प, त्यसपछिको संवेदनशील अवस्था ध्यानमा राखेर विपद् व्यवस्थापन, पुनस्र्थापन र पुननिर्माणका सबै चरणहरुमा तनावका मनोवैज्ञानिक र मानसिक पक्षलाई पनि ध्यानमा राख्न आवश्यक हुन्छ । अहिले भुकम्प र त्यसपछिका बन्द, नाकाबन्दी र अभावले सृजना गरेका जटिलताहरु र समस्याको व्यवस्थापन हुन नसक्दा आम नेपालीहरु झन् प्रताडित् हुने स्थिति नआओस् भनी अब त जागरुक होऔं ।

(कान्तिपुर कतार, पुष ९, २०७२)