Friday, June 18, 2021

कोविड-१९ बारे आधारभूत कुराहरु बुझौं है

https://www.hamrodoctornews.com/detail/20571

कोविड-१९ नयाँ स्वास्थ्य समस्या भएको हुनाले कति कुराहरु निश्चित रुपमा प्रष्ट र प्रकाशित हुन बाँकी छन् । जति कुरा अहिलेसम्म थाहा भएको छ, त्यस आधारमा केही कुराहरु छन्, जुन सबै मानिसहरुले जानीबुझी राख्न आवश्यक भएको छ । यहाँ, केही यस्ता हालसम्म स्पष्ट र स्थापित भएका तथ्यहरु राख्दैछु । १. कसले कोविड टेष्ट गर्ने ? कोरोना भाइरसले शरीरमा संक्रमन भएपनि धेरैजसोमा कुनै लक्षण उत्पन्न हुँदैन । तर जथाभावी, लापर्वाहि गरेमा बिना लक्षणका यस्ता संक्रमित मानिसहरुले अरु मानिसलाई सार्न सक्तछ । यस भाइरसबाट संक्रमित मानिसहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, सास फेर्न गाहारो हुने, घाँटी खस्खसाउने, स्वाद र गन्ध थाहा नपाउने, टाउको र शरीर दुख्ने लगायतका लक्षणहरु हुनसक्छन् । अतः, यी लक्षणहरु देखिएमा वा संक्रमित ब्यक्तिको सम्पर्कमा असुरक्षित हिसाबले सम्पर्कमा आएका सम्भावित ब्यक्तिहरुले अनिवार्य रुपमा कोरोना परीक्षण (पिसिआर वा Antigen टेष्ट) गराउनुपर्छ । यसले संक्रमनको सांग्ला तोड्न र अस्वस्थ भएको खण्डमा समयमै उपचार प्रक्रिया अघि बढाउन सजिलो बनाउँछ । अहिलेको समयमा जे कारणले ज्वरो आए, खोकी लागे पनि कोविड हो कि भनेर Rule out गर्नु जरूरी हुन्छ, यसको लागि समयमै चिकित्सकसँग अनलाइन वा फोन, मोबाइल कन्सल्टेसन र आवश्यकता अनुसार जाँच परीक्षण गराउनुपर्छ । लक्षणहरु हराएपछि, ठीक भएपछि फेरि PCR गर्नु चाहीँ आवश्यक छैन । पिसिआर टेष्ट गरी आइसोलेसनमा बसेको १४ दिनपछि पनि यो टेष्ट गर्न आवश्यक हुँदैन । २. जनस्वास्थ्यका मापदण्ड (SMS and IPC measures): सामान्यतया सबैले, विशेष गरी संक्रमित ब्यक्तिको सम्पर्कमा आएका वा लक्षण देखिएका वा टेष्ट पठाएका संक्रमनको हिसाबले सम्भावित सबैले जनस्वास्थ्यका सबै मापदण्डहरुः नाक, मुख छोपिने गरी उपयुक्त ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेला साबुनपानीले हात धुने, जथाभावी हिडडुल नगर्ने तथा अर्को ब्यक्तिबाट कम्तिमा २ मिटर टाढा रहने जस्ता (SMS and IPC measures) नियमहरु पालना गर्न आवश्यक हुन्छ । ३. होम आइसोलेसनमा बस्दा: कोरोना भाइरसले शरीरमा संक्रमन भएर लक्षण देखिएमा पनि थोरै यस्ता संक्रमित मानिसहरुमा लक्षण आउने हो । होम आइसोलेसनमा रहँदा पोषिला तथा झोलिला कुराहरु सेवन गरिरहने, आराम गर्ने, पर्याप्त र नियमित सुत्ने, झ्याल खुल्ला राखेर हावा आवतजावत हुनदिने, दिनमा ३-४ पटक तापक्रम, सासको गति र अक्सिजनको स्तर (SpO2) हेर्नुपर्छ । सामान्य अवस्थामा जेजस्तो सम्भव हुन्छ, आफ्नो दैनिकी, ब्यायाम, शोंख र अहिलेको समयमा प्रविधिको उपयोग गरेर कोविड सम्मत रुपमा सम्भब हुने सबै क्रियाकलापहरु अगाडि बढाउने कोसिस गर्नुपर्छ । बेलाबेला घोप्टो परेर गर्ने सासप्रस्वासको अभ्यास (proning) यसमा विशेष लाभदायी देखिन्छ । साथमा, मन सकारात्मक, मनोबल उच्च राख्ने, अनावश्यक अपडेट तथा सामाजिक सञ्जालबाट टाढा रहने तर आफ्ना परिवारजन, नजिकका नातेदार तथा चिकित्सकसँग नियमित सम्पर्क र सम्बादमा रहने । अक्सिजनको स्तर ९२-९४% भन्दा बढी छ, जटिलताका अरु लक्षणहरु छैनन् भने ज्वरो वा लाक्षणिक, अरु र पहिलेदेखि लिँदैआएका औषधी चिकित्सकको सल्लाहमा लिनसकिन्छ । नजिकको अस्पताल र स्वास्थ्यकर्मी, चिकित्सकको सम्पर्कमा रहिरहनु उपयुक्त हुन्छ। आजकल नेपाल चिकित्सक संघ लगायत धेरै संस्थाले उपयोगी सम्पर्क नम्बरहरु सेवार्थ सार्वजनिक गरेका छन् । उपयोगी जानकारी शुरु देखि राखेर सजग हुनुपर्छ । ४. अस्पतालमा भर्ना हुनुपर्ने अवस्था : कोविड संक्रमन भएका सबै मानिस अस्पतालमा भर्ना हुनु, गर्नुपर्ने हुँदैन । कोविड संक्रमनको लक्षण देखा परेकाहरुमध्ये केहिमा मध्यम र कडा (moderate & severe) अवस्था आउनसक्छ । उच्च ज्वरो (१०२ डिग्री भन्दा बढी) ४-५ दिनभन्दा बढी समयसम्म, अक्सिजन स्याचुरेसन ९२-९४% भन्दा कम, सास फेर्न अप्ठ्यारो भई सास फुलेमा, सासको दर २४ प्रति मिनेटभन्दा बढी, दिमाग भारी भई बेहोस, अन्य रोगको कारण जटिल अवस्था भएमा अवस्था खराब भएको बुझ्नुपर्छ। यस्तो अवस्थामा चाहीँ पक्कै यथासिघ्र अस्पताल जानुपर्छ । त्यस्तै, ६० बर्षभन्दा बढी उमेर, उच्चरक्तचाप, अरु मुटु तथा फोक्सोका रोग, मधुमेह, मिर्गौला, कलेजो वा अति मोटापाको समस्या भएका ब्यक्तिहरुले शुरुमै चिकित्सकीय सेवामा जानु राम्रो हुन्छ । ५. अस्पतालमा जान ढिला नगरौं: धेरैजसो मृत्यु अस्पताल जान ढिला गरेर भएको खबर आएको छ । सास फेर्न अलि गार्हो र अक्सिजनको स्तर (saturation) कम छ वा अस्पतालमा भर्ना हुनुपर्ने अरु कुनै अवस्था छ भने घरमा नकुरौं, चाँडै अस्पताल पुगौं । नजिकैको अस्पताल अपग्रेड गर्न असल नागरिकको रुपमा सहयोग, पैरवी तथा सरोकार राखौं । ६. कसलाई कति अक्सिजन चाहिने हो, सबैको अक्सिजनको आवश्यकता (oxygen requirements) फरक हुन्छ । घरमै oxygen concentrator लाएर बस्छु भन्नु ठूलो गल्ती हुनसक्छ । एक मिनेटमा कति (Liter) चाहिन्छ भन्ने ब्यक्ति ब्यक्तिमा फरक पर्छ । ७. आमसञ्चारमा समाचार आएको जस्तो कालो ढुसीको सम्भावना सबैमा उस्तै हुने होइन; मधुमेह, वा रोग प्रतिरोध क्षमता कमजोर भएको ब्यक्ति (diabetic/ immunocompromised)ले या कसैले जान्ने डाक्टरको सल्लाह बिना steroids को प्रयोग सुरूमै नगरौं, न त लामो समय यसको प्रयोग गर्नु उचित हुन्छ । कृपया समयमा नै विज्ञ चिकित्सक (experts) कन्सल्ट गरौं । ८. बिषाणु संक्रमन (viral infection) मा Antibiotics को प्रयोगको औचित्य सिमित छ । अरु जिवाणु संक्रमन (Secondary infection) नभई यसको प्रयोग नगरौं । ९. जनस्वास्थ्यका मापदण्डहरु (SMS & IPC) सहित् Mass Vaccination नै उपाय हो । जहाँ जसरी जतिसक्दो चाँडो खोप भ्याक्सिन लगाऔं । खोप (Vaccine) ले कोविड सर्दैन, न त नयाँ भेरियन्ट (variant) नै बनाउँछ । आमसञ्चार, सामाजिक सञ्जाल वा कसैको अफवाहको पछि नलागौं । कोविड लागिसकेका ब्यक्तिले vaccine लगाउन ६ महीना कुर्नु ज़रूरी छैन । ठीक भएपछि उपलब्ध हुनासाथ लगाउनु राम्रो हुन्छ । सबै खोप (vaccine) का आ-आफ्नै प्रभावकारिता (effectiveness & efficacy) हुन्छन् । खोप (vaccine) लाउँदैमा १००% सुरक्षित हुने होइन, यस्तो सोच्नु ग़लत हो । तर यो खोप लगाएका मान्छेलाई बिरलै मात्र कडा लक्षण र मृत्यु भएको देखिएको छ । १०. मास्क लगाएर न त सासको समस्या हुन्छ, न त स्यानिटाइजर (sanitizer) लगाएर रोग प्रतिरोध क्षमता (immunity) नै घट्छ। ११. कोविड १९ सधैं रहिरहनसक्छ : पहिलेका कुनैपनि महामारी रोक्न र नियन्त्रण गर्नमा जस्तै यसमा पनि हामीले आफ्नो बानी व्यवहार फेर्न ज़रूरी छ । त्यस्ता कोविड सम्मत व्यवहार भनेका जनस्वास्थ्यका मापदण्ड (SMS & IPC) नै हुन्। १२. कोविड भ्रम हो भन्ने अफवाहको पछि नलागौं : हामी सबैले यसले के गर्न सक्छ भन्ने देखिसक्यौं, अझै देखिरहेका छौं । कुनै पनि बहानामा यो संक्रमनको सिक्रि, सांग्ला वा चक्र चलाउन, यसको गति बढाउन कसैगरी कतै कदापि हिस्सा नबनौं । अब सुरक्षित बसौं, रहौं । १३. महामारी वा जेजस्तो परिस्थिति आइपरेपनि : पहिले प्रभावित हुने, प्रसंग हटेपछि पनि पर्यन्त प्रभावित रहने भनेको मान्छेको मन नै हो ! यस महामारीको दृश्य शारीरिक पक्ष सहित मनोसामाजिक असर पक्षको पनि ख्याल राखौं । परस्परमा सम्बाद, सहयोग, समन्वय र तनाब ब्यवस्थापनलाई पनि प्रबर्द्धन गरौं । Email: drdhanashakya@yahoo.com

Source: https://www.hamrodoctornews.com/detail/20571?fbclid=IwAR21fDUGrsPZo93gFjDCpY2Ycf7WOOd2-xGMLVFt5emlwv2ywQ7ynE4J9pA

Monday, October 10, 2016

सबैका लागि : मानसिक प्राथमिक उपचार

डा. धनरत्न शाक्य

बिचलित र अस्वस्थ मानसिक अवस्था र मनोरोगमा मानव मूल्य र सम्मान कायम राख्नु चुनौतीपूर्ण छ । यस कुराको महसुस विश्वव्यापी रुपमा हुँदैछ । मानसिक समस्या र मनोरोगको रोकथाम, उपचार र पुनस्र्थापन लगायत् मनोस्वास्थ्यको प्रवद्र्धनमा सम्मानजनक पहुँचको अवधारणालाई सन् २०१५को विश्व मानसिकस्वास्थ्य दिवसले अंगीकार गरेको हो । सम्मानजनक र मर्यादापूर्ण मानसिक स्वास्थ्यका लागि विश्वव्यापी रुपमा जागरण, प्रयास र पैरवीको अभियानको सिलसिलामा यस वर्ष सन् २०१६ मा सम्मानजनक मानसिक स्वास्थ्य हेतु ‘सबैका लागि मानसिक स्वास्थ्यको प्राथमिक उपचार’ भन्ने नाराका साथ मानसिकस्वास्थ्य दिवस मनाइँदैछ । नेपाल र हामी नेपालीको वर्तमान बस्तुस्थिति र यथार्थतालाई नियाल्दा यो अवधारणा नेपाल र यस्तै अवस्थाका मुलुकहरुका लागि नै अगाडि ल्याइएको हो जस्तो लाग्छ । 
 
बिनासकारी भुकम्प र मानसिक प्राथमिक उपचारः 
गत वर्ष सन् २०१५को बिनासकारी भुकम्प र त्यस उपरान्तका पराकम्पहरुले नेपाल र नेपाली जनजीवन नराम्ररी प्रभावित भयो । अहिले पनि त्यसको प्रभाव प्रतक्ष्य भोगिरहेका छौं । धेरैको ध्यान शारिरीक क्षति, मृत्यूसंख्या र भौतिक खतिमा केन्द्रित रह््यो । यस्तो तनावको बेलामा तनाव बहनका लागि सबै सचेत हुनुपर्ने । पीर, चिन्ता र बेचैनीले गर्दा उल्टो धेरै मानिस सुत्नसकेनन् र राति पनि सुतेनन् । प्यास लागेन र चाहिने जति पानी र झोलकुराको सेवन गरेनन् । भोकको ख्याल रहेन । कतिपय मानिसले नियमित खाइरहेको दवाइ समेत भुलेर टुटाए । उच्चरक्तचाप, मधुमेह, लगायत मनोरोग अनियन्त्रित हुँदा अझ अरु समस्या थपिए । भुकम्पमा शारिरीक रुपले सुरक्षित रहेका कतिपय मानिस मृत फेला परे । हाम्रो समाजमा मानसिक रुपले बिचलित र अस्वस्थ मानिसहरु यति देखा परे कि पहिलेपहिले मानसिक भन्ने शव्द सुन्नसम्म हिच्किचाउनेहरु यसबारे जान्न, सुन्न र बुझ्न लालायित देखिए । यस मनोचिकित्सक लेखकबाट भक्तपुरका प्रतक्ष्य भुकम्प प्रभावित मानिसहरुमा भुकम्प लगतै भएको एक सर्वेक्षणले ५०% भन्दा बढीमा कुनै न कुनै मानसिक लक्षण र समस्या भएको देखायो । आमसञ्चारमा पनि मानसिक समस्या र तनावबारे सामग्रीहरु औसतभन्दा बढी देखापरे । यो बेला आम रुपमा मनोरोग र तनावको बेला अपनाउन सकिने प्रारम्भिक उपाय र प्राथमिक उपचारबारे जानकारी र सजगताको कमि रहेको प्रष्ट भयो । लगभग सबैजसो मानिस यो विपद र तनावको सामना गर्न तयारी हाल्मा रहेनछन् । विपद, बिनास र तनाव कतिपय बेलामा मानिसको बस्मा हुँदैन । तर त्यस्तो बेलामा क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्ने उपायहरुबारे सजग रहन सके हामी र हाम्रो समाजलाई पर्ने असरको व्यवस्थापन सहज बन्नजानेछ । 
 
तनाव बहन र मनोवैज्ञानिक प्राथमिक उपचारः 
मानव जीवन र समाज तनावको सिलसिलामा अगाडि बढ्नेगर्छ । भुकम्प जस्तै बाढी, पहिरो, असिना, हावा हुरी, आदि जस्ता प्राकृतिक प्रकोपबाट मानवजाति पहिलेदेखि नै पिडित हुँदै आएको हो । समाजमा व्याप्त बिसंगति, कुरीति, उँचनीच, छुवाछुट, उत्पीदन, भ्रष्टाचार, बिखण्डन, अज्ञानता, भ्रष्टाचारले जीवन एकातिर तनावपूर्ण रहन्छ भने अर्कोतिर घर, परिवार र व्यक्तिगत रुपमा आइपर्ने दुर्घटना, रोगव्याधि, मृत्यू, बिछोड, असमझदारी, कलह, दुव्र्यवहार, धोका, हत्या, हिंसा, आतंक, अभाव, हानी, बेरोजगारी जस्ता घटना, प्रसंग, पिरचिन्ताले मानवजीवनलाई जकडेको देखिन्छ । यस्तोमा मानसिक आघात, चोट, पिडा, अस्वस्थताले जोकोहि पनि जहिले पनि मानसिक रुपले बिचलित र अनियन्त्रित हुनसक्छ । वर्तमान विश्वमा हत्या, हिंसा, आतंक र अन्य तनाव तुलनात्मक रुपले बढ्दै गएको परिस्थितिमा मानसिक समस्या र अस्वस्थताको मार पनि बढ्दैगएको तथ्य अगाडि आएको छ । तनावको पृष्ठभूमिमा मानसिक समस्या देखिएमा समयमै पहिचान गरी प्राथमिक उपचार गर्न सकिएमा सम्भावित जटिलताहरु कम भएर जाने पनि देखिएको छ । 
 
मानसिक समस्या र रोग अनि मानसिक प्राथमिक उपचारः 
 विश्वमा मानसिक समस्याको मार लगभग १५ देखि २५ प्रतिशत मानिसमा हुने भनिएपनि हाम्रो जस्तो परिस्थितिमा बढी नै होला भन्ने लाग्छ । सामान्यतया एक वर्षमा २०–३०% मानिसमा र २० वर्षको अवधिमा ५०–७०% मानिसमा कुनै न कुनै मानसिक समस्या हुने कुरा एक अमेरिकी अध्ययनले देखाएको छ । छट्पटी (एन्जाइटी), उदासिनता (डिप्रेसन), मद्य र अन्य मादक पदार्थको लतले अक्सर टाउको जिउ भारी हुने, कम्मर दुख्ने, नातागत र कमजोर महसुस हुने, निद्रा नलाग्ने जस्ता भ्रामक लक्षणहरु सहित धेरै मानिसलाई सताइरहेको हुन्छ । कम कडा खालका यी मानसिक समस्या र रोगले धेरै मानिसलाई सताउनेगर्छ । लक्षण र अरु आवश्यक जानकारीको अभावमा पहिचान नहुँदा, प्रारम्भिक उपाय र प्राथमिक उपचार नपाएर, मानसिक रोग भन्नासाथ हेय हुने डरले ढाकछोप गर्दा र उपयुक्त उपचार नभएर समाजमा मानसिक समस्याबाट असक्त हुने, विकलांग वा असमर्थ हुने, रोग पछि अझै कडा बन्ने, अरु शारिरीकरोगको ख्याल नगर्ने, आत्महत्या र मृत्यूको दर समेत बढ्ने देखिएकोछ । समाजमा १–२% मानिसमा पागलपन, बाइपोलर, कडा खालको डिप्रेसन, मस्तिस्कको चोटबाट उव्जिने समस्या जस्ता कडा मानसिक रोगहरु पनि हुन्छन् । यस्ता रोगहरुको प्रारम्भिक चरणमै पहिचान गरेर प्राथमिक उपचार गर्नसके धेरै जटिलताहरु कम गर्न सकिने देखिन्छ ।
 
आत्महत्या र मानसिक प्राथमिक उपचारः 
समाजमा व्याप्त मानसिक समस्याहरुको उपयुक्त उपचार नहुनाले, तनावको उचित व्यवस्थापन नहुनाले र नशालु पदार्थको व्यापक प्रयोगले गर्दा आत्महत्याको समस्या पनि उल्लेख्य बन्दै गएको छ । आत्महत्याका खतरासुचक लक्षणहरुको समयमै पहिचान गरी उपयुक्त उपाय र प्राथमिक उपचार अपनाउन सके धेरै हदसम्म यो समस्या घट्ने देखिन्छ । साथै, दैनिक जीवन र परिस्थितिमा केहि समयका लागि उत्तेजना र तनावमा आएर बिचलित हुने अवस्था पनि आउनेगर्छ । यस्तो बेला कसरी शान्त रहने र परिस्थिति सम्हाल्ने भन्ने कुराको महत्व पनि कम हुँदैन । शारिरीक चोट, रोग र समस्याहरुमा प्राथमिक उपचारको ठूलो महत्व भएजस्तै मानसिक आघात, चोट वा समस्याहरुमा पनि समयमै पु¥याइएको प्राथमिक उपचारको महत्व सिद्ध भएको छ ।
 
सबैको लागि– मनोवैज्ञानिक र मानसिक प्राथमिक उपचारः 
जहाँ मन छ, मानसिक बिचलन र समस्या हाम्रा घरपरिवार, समाज, छरछिमेक, विद्यालय, क्याम्पस, कार्यस्थल, यातायात प्रणाली, सुपरमार्केट, मल, शहरबजार, सामुहिक स्थल, मिलिटरी, प्रहरी, स्वास्थ्यसंस्था, अस्पताल, मन्दिर, गुम्बा, मस्जिद् जहाँ पनि आइपर्नसक्छ । त्यसैले, के आम मानिस, के शिक्षक, विद्यार्थी, के परिवारजन, नातागोता, साथीभाई, के सेवाग्राही, सेवाप्रदायक, के धर्मगुरु, भक्तजन सबैसबैलाई यस्तो मानसिक आघात, चोट, बिचलनको अवस्थामा प्राथमिक उपचारको आवश्यकता पर्नसक्छ । अब, हामी सबै आम जनता, सेवा प्रदायक (पारामेडिक, चिकित्सक, अरु स्वास्थ्यकर्मिहरु) लाई मनोवैज्ञानिक र मानसिक उपचारको जीवन रक्षाको जानकारी, कला वा तालिम आवश्यक भएको छ । यस वर्षको मानसिक दिवसले विश्वस्तरमा हामी सबैलाई मानसिक रुपले बेचैनीमा रहेका मानिसलाई शारिरीक चोटपटकमा जस्तै कसरी आधारभुत मनोवैज्ञानिक तथा मानसिक स्वास्थ्य प्राथमिक उपचार प्रदान गर्ने भनेर सिक्न आव्हान गरेको छ । मानसिक रुपले अस्वस्थ मानिसको पनि सम्मान र आवश्यक व्यवस्थापनको लागि त्यस्तो बेला हुनसक्ने बिभेद र दुव्र्यवहारको अन्त्यका लागि जागरुक हुनुपरेकोछ । यसका लागि आम मानिसलाई सचेत, सबल र सक्षम बनाउने द्येय बोकेको छ यस नाराले । त्यसैले, जसरी शारिरीक चोटपटक र आघातमा काम्रो, पट्टी, सासप्रस्वास आदि भन्ने प्राथमिक उपचार भने जस्तै अब मनोसामाजिक साथसहयोग, मनोपरामर्श आदि भन्ने अवधारणा सहितको मनोवैज्ञानिक र मानसिक स्वास्थ्यको प्राथमिक उपचारबारे पनि व्यक्ति, समाज, रेडक्रस जस्ता संस्थाहरुले एकवद्ध भएर अभियान गर्न आवश्यक भएको छ । यस दिनले अब हामीलाई पनि नेपाली मनमुटु, हावापानी, माटो र सँस्कृति सुहाउँदो पद्धति र विधिको बिकास गर्नतिर पनि प्रेरणा मिलोस् भन्ने पनि शुभकामना छ । 
 
(बरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ डा. शाक्य एडिशनल प्रोफेसर  हुन् । )

Source: http://hamrodoctor.com/news/57fb1c9e50c3e